नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरुको साझा संगठनको रुपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) क्रियाशील रहँदै आएको छ । यो संगठनले आदिवासी जनजाति पत्रकारहरुलाई संगठित गर्दै उनीहरुकै हकहितका साथै क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरु गर्दै आएको छ । विगत १५ वर्षदेखि संगठित हुँदै अहिले आएर ४६ जिल्ला र चार विदेश शाखाका रुपमा हामी विस्तार भइसकेका छौं । यो हाम्रो संगठनको गौरवको विषय हो ।
हाम्रो मुख्य उद्देश्य भनेकै नेपाली पत्रकारितालाई बढीभन्दा बढी व्यावसायिक बनाउने हो । अहिले देखिएका विकृति विसंगति हटाउँदै सामाजिक संरचनाअनुसारको बहुलतालाई नेपाली पत्रकारिताको माध्यममार्फत् परिष्कृत र विकसित गर्न चाहन्छौं । त्यसका लागि आमसञ्चारकर्मी व्यावसायिक रुपमा सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने किसिमको हुन जरुरी छ । अहिले फोनिज विविधतायुक्त समाजअनुरुपको पत्रकारिताको अभ्यास गर्नका लागि त्यस दिशामा अघि बढिरहेका छौं ।
देशमा विविधता छ । तर यहाँका नीति नियमहरु ती विविधतालाई सम्बोधन गर्ने किसिमको हुन सकिरहेको छैन । अझ सञ्चार नीति समावेसी छैन । विगतदेखि नै भन्दै आएका छौं कि नेपालको समाजलाई साँच्चै समृद्ध बनाउने हो भने सञ्चार माध्यम समावेसी चरित्रको हुनु जरुरी छ । पहुँच र प्रतिनिधित्व मात्र नभई विषयवस्तुमा समेत समावेसिताको सिद्धान्त अपनाउने हो भने नेपाली पत्रकारिता साँच्चै व्यावसायिक बन्न सक्दछ । हामी सबैको ध्यान त्यसतर्फ जान जरुरी छ ।
लोकतन्त्र, विकास र सुशासन कायम गर्नका लागि पनि पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ । पारदर्शी र जवाफदेहीपूर्ण पत्रकारिताले मात्र सुशासन कायम हुनसक्दछ, लोकतन्त्र फस्टाउन सक्दछ । त्यसैले नेपाली पत्रकारितालाई क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन फोनिज सदैव क्रियाशील रहनु पर्दछ, रहने छ ।