प्रथम राष्ट्रिय भेला १० बुदे समावेशी मिडिया घोषणापत्र–२०७३

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०७३ जेठ ४ गते नेवाः राज्य काठमाडौंमा “हाम्रो अभियानः पूर्ण प्रेस स्वतन्त्रता र समाबेसी आमसञ्चार” मूल नाराका साथ सम्पन्न ऐतिहासिक प्रथम राष्ट्रिय भेला १० बुदे समावेशी मिडिया घोषणापत्र–२०७३ जारी गर्दछ ।

१. संविधान सभाबाट नयाँ संविधान जारी भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलितलगायत अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितता नभएको भन्दै असन्तुष्टी पैदा भई आन्दोलनरत पक्षको मागलाई गम्भिरतापूर्वक लिएर राज्यले तत्काल सम्बोधन गर्न यो भेला जोड्दार माग गर्दछ ।

२. नेपाल पत्रकार महासंघको २०७३ वैशाख २१ गते चितवनमा सम्पन्न साधरणसभाको म्याण्डेटअनुसार विधानमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित, उत्पीडित क्षेत्रलगायत अल्पसंख्यक समुदायको संचारकर्मीलाई समानुपातिक समाबेसी प्रतिनिधित्व सुनिश्चत हुनेगरी जारी गर्न भेला माग गर्दछ ।

३. सरकारद्वारा पारित श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक १९,५०० रुपियाँ तत्काल प्रदान गर्न यो भेला जोड्दार माग गर्दछ ।

४. राज्यद्वारा उपेक्षित र औपचारिकतामा मात्र सिमित पारिएका आदिवासी जनजाति मातृभाषामा प्रकाशित पत्रपत्रिका र प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन र प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी संचार विकास प्रतिष्ठान गठन गर्न भेला सरकारसित माग गर्दछ ।

५. सरकारी तथा निजी सञ्चार माध्यमहरुमा बहुलता र समावेशी समाचार कक्ष स्थापना गर्न माग गर्दै सञ्चारमा आदिवासी जनजातिको भाषा, संस्कृति–परम्परा र राजनीतिक मुद्दाहरुलाई प्राथमिकता दिई निष्पक्ष रुपमा प्रसारण र प्रकाशनको व्यवस्था गरी पूर्ण समावेशी संचार नीति लागु गर्न यो भेला माग गर्दछ ।

६. आदिवासी जनजाति, लोपोन्मुख तथा अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी आदि समुदायका पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न सरकारस“ग यो भेला माग गर्दछ ।

७. पुस्तक लेखेकै आधारमा झुटो मुद्दा लगाएर किरात राई पत्रकार संघका पूर्व महासचिव तथा पत्रकार भद्रगोल किराती (मनोजकुमार राई) लाई प्रहरीले थुनामा राखेको घटनाको भ्रत्र्सना गर्दै तुरुन्त रिहाई गर्न यो भेला जोडदार माग गर्दछ ।

८. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विविभन्न प्रमाणका आधारमा यो भेला ठोकुवा गर्दछ । साथै संस्थापक महासंघका अध्यक्ष को भन्ने उत्पननका सन्दर्भमा सत्य तथ्य अध्ययन अनुसन्धान गरी यस सम्बन्धि उठेको विवाद हल गर्न यो भेला पत्रकार महासंघ लगायत सबै पक्षसँग माग गर्दछ ।

९. आदिवासी जनजाति, मधेसी, मुस्लिम समुदायको पहिचान खुल्ने गरी सिमांकन र नामांकन सहित प्रादेशिक संरचनालाई पुर्णता दिई नेपालको संविधान २०७२ लाई संसोधन गरीयोस भन्ने यो भेला माग गर्दछ ।

१०. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय, प्रादेशिक र जिल्ला शाखालयात सम्पूर्ण निकायको निर्वाचन १८ महिनाभित्रमा सम्पन्न गरिसक्ने यो भेला प्रतिबद्धता जाहेर गर्दछ ।

घोषणा समिति
संयोजक : भैरव आङ्ला
सदस्य : शाहीमान राई
सदस्य : जीवन लामा
सदस्य : दिपा आलेमगर
सदस्य : यमन दनुवार
सदस्य : ईन्द्रजित मुखिया